काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइको जिम्मेवारी दलभन्दा बढी बिचौलियालाई लगाएका छन् । उनले सरकारलाई बिचौलियाको दबाबमा नचली मेरिटोक्रेसीका आधारमा योग्य व्यक्तिलाई गभर्नर नियुक्त गर्न सुझाव दिएका छन् ।
बिहीबार रुपन्देहीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले गभर्नर नियुक्तिको विषयमा दलहरूबीच हैन, बिचौलियाबीच समझदारी नहुँदा प्रक्रिया अड्किएको दाबी गरे ।
'कुरा दलहरूबीच होइन, बिचौलियाहरूबीच नमिल्दा ढिलाइ भएको हो । कहिले कांग्रेस, कहिले एमालेलाई समात्छन्, टुंगो लागेको छैन,' प्रचण्डले भने ।
उनले गभर्नर जस्तो संवेदनशील र अर्थतन्त्रसँग जोडिएको पदमा बिचौलियाको चलखेल बन्द गर्नुपर्नेमा जोड दिए । सरकार बिचौलियाका इशारामा काम गरिरहेको र इमानदार कर्मचारीहरूलाई अपमानित र हटाउने प्रवृत्ति बढ्दै गएको उनले आरोप लगाए ।
प्रचण्डले कांग्रेसकै महामन्त्रीले प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच रहेको स्वीकार गरिसकेको प्रसंग उल्लेख गर्दै आफूहरूले उठाउँदै आएको कुरा अब पुष्टि भएको बताए ।
'पहिले लाग्थ्यो माओवादी र प्रचण्डले पूर्वाग्रही कुरा गर्छन् कि क्या हो । अहिले त कांग्रेसकै नेताहरूले प्रमाणित गरिदिनुभयो,' उनले भने ।
उनले गभर्नर नियुक्तिमा ढिलाइ नगरी पारदर्शिता र योग्यता आधारित प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड दिँदै, गणतन्त्रको सफलताका लागि इमानदार र योग्य जनशक्ति व्यवस्थापन आवश्यक भएको बताए ।