काठमाडौं । टोखाकाे झोरबाट पक्राउ परेका ट्रक चालक कुसाङ लामा २५ करोडभन्दा बढीको विदेशी मुद्रा प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले लामालाई थुनामा राखेर मुद्दा अघि बढाउने आदेश दिएको हो ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय लामालाई गत ४ चैतमा ना ७ ख १६५२ नम्बरको ट्रकमा चीनतर्फ डलर र युरो लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो। ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाइएको प्रहरीले जनाएको छ ।
यस प्रकरणमा २५ करोड रुपैयाँभन्दा बढीको विदेशी मुद्रा बरामद गरिएको थियो । बरामद रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको रहेको छ ।
यस मुद्दामा ट्रक चालक लामासँगै अर्का प्रतिवादी नारायण पौडेल फरार रहेका छन् । उनी सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० मा बसोबास गर्दै आएका थिए । पौडेललाई नै उक्त रकमको मुख्य मालिक मानिएको छ ।
राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्रा ओसारपसार गरेको अभियोगमा उनीहरूमाथि विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसार मुद्दा दायर गरिएको छ । मुद्दामा बरामद रकमअनुसार बिगो र जरिवाना समेत मागदाबी गरिएको छ ।