काठमाडौं । घट्दो जन्मदरसँग जुध्न इटालीले सोमवारदेखि ‘बेबी बोनस’ योजना औपचारिक रूपमा सुरु गरेको छ । सरकारले नयाँ जन्मिने वा धर्मपुत्र ग्रहण गरिने प्रत्येक शिशुको लागि १ हजार युरो (झण्डै १ लाख ५० हजार रुपैयाँ) करमुक्त भत्ता प्रदान गर्ने योजना ल्याएको हो ।
इटालियन राष्ट्रिय सामाजिक सुरक्षा संस्थानले सार्वजनिक गरेको यस योजनाअन्तर्गत सन् २०२५ मा जन्मिएका वा धर्मपुत्रका रूपमा ग्रहण गरिएका बच्चाहरूका लागि उक्त भत्ता उपलब्ध गराइनेछ । योजना इटालियन नागरिकसँगै युरोपेली संघका सदस्य राष्ट्रका नागरिक तथा कानुनी दीर्घकालीन रूपमा इटालीमा बसोबास गरिरहेका गैर–इयु नागरिकलाई पनि लागू हुनेछ ।
सरकारले सन् २०२५ का लागि ३३० मिलियन युरो बजेट छुट्याएको छ भने २०२६ मा उक्त कोष ३६० मिलियन युरोमा पुर्याउने तयारी रहेको छ । प्रधानमन्त्री जर्जिया मेलोनीले जन्मदर वृद्धि गर्नु सरकारको शीर्ष प्राथमिकता भएको बताएकी छन् ।
इटालीको राष्ट्रिय तथ्याङ्क संस्थानले मार्चमा सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२४ मा इटालीको प्रजनन दर प्रति महिला १.१८ शिशुमा झरेको छ, जुन १९९५ यताकै न्युनतम हो । स्थिर जनसंख्या कायम राख्न आवश्यक मानिने प्रतिस्थापन दर भने प्रति महिला २.१ शिशु हो । यो योजना देशको प्रजनन दर वृद्धि गर्ने दीर्घकालीन प्रयासको एक हिस्सा मानिएको छ।