काठमाडौं । विश्वप्रसिद्ध ह्याकिङ समूह एनोनिमसले रुसमा भएको एक ठूलो साइबर आक्रमणको जिम्मेवारी लिएको छ । यस ह्याकिङ समूहले एक्स (पहिलेको ट्वीटर) मा जानकारी दिँदै लेखेको छ कि १० टेराबाइट डेटा इन्टरनेटमा अपलोड गरिएको छ ।
यस डेटामा रुसको राजनीतिक अवस्था, स्थानीय व्यवसाय, रुसलाई समर्थन गर्ने अधिकारी र क्रेमलिनसँग सम्बन्धित सम्पत्तिहरू बारे विवरणहरू समावेश छन् ।
दाबी गरिएको छ कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सम्बन्धित फाइलहरू पनि लिक गरिएको छ । एक्समा गरिएको पोस्टमा सार्वजनिक गरिएका फाइलहरूको सूचीमा ’लिक डेटा अफ डोनाल्ड ट्रम्प’ नामक फाइल पनि देखिएको छ ।
एक्स पोस्टमा के उल्लेख छ ?
'हामीले युक्रेनको समर्थन गर्दै रूसमा कार्यरत व्यवसायहरूसँग सम्बन्धित १० टेराबाइट डेटा लीक गरेका छौं । यसमा क्रेमलिनसँग सम्बन्धित सम्पत्ति, रुसलाई समर्थन गर्ने अधिकारीहरू र डोनाल्ड ट्रम्पसँग सम्बन्धित जानकारीहरू समावेश छन् ।’
In defense of Ukraine Anonymous has released 10TB of leaked data on all businesses operating in Russia, all Kremlin assets in the West, pro-Russian officials, Donald Trump, and more. 🇺🇦 #OpRussia https://t.co/Z1wKhjcSUz pic.twitter.com/Hod9qGBi8l
— Anonymous (@YourAnonCentral) April 15, 2025
एनोनिमसले थप कुनै विवरण साझा गरेको छैन, न त भविष्यमा अरू डेटा लीक गर्ने धम्की नै दिएको छ ।
एनोनिमस समूह को हो?
एनोनिमस एक विश्वप्रसिद्ध ह्याकिङ समूह हो जसले आफ्नो कार्यलाई ह्याक्टिभिज्म अर्थात् ह्याकिङ र सामाजिक आन्दोलनको मिश्रण भनेर चिनाउँछ । यस समूहले विभिन्न सरकारी र निजी संस्थाहरूलाई लक्षित गर्ने इतिहास राखेको छ, प्रायः भ्रष्ट वा जनविरोधी मानिने समूहहरूलाई ।
ट्रम्प - रशियन एजेन्ट?
यस वर्षको सुरुमा एनोनिमस समूहले डोनाल्ड ट्रम्पमाथि रुसको लागि जासुसी गरिरहेको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत चेतावनी दिएका थिए । उनीहरूले ट्रम्पको पुटिनसँग सम्बन्ध रहेको दाबीसमेत गरेका थिए ।
ट्रम्पद्वारा ट्यारिफ नीति लागू गरिएपछि एनोनिमस समूह झनै सक्रिय भएको देखिन्छ । सन् २०२२ मा यस समूहले युक्रेनको समर्थनमा रुसविरुद्ध साइबर युद्ध सुरु गर्ने घोषणा गरेको थियो ।