काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथि विश्व फुटबल नियामक संस्था फिफाले लगाएको १० वर्षे प्रतिबन्धको अवधि सकिएको छ ।
थापाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिबन्ध २०२५ अप्रिल १५ मा समाप्त भएको जानकारी दिएका हुन् । 'म माथि लगाइएको प्रतिबन्ध फुकुवा भएको जानकारी गराउन चाहन्छु,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फिफाले सन् २०१५ मा भ्रष्टाचार र घुस लिएको आरोपमा थापामाथि फुटबल सम्बन्धी सबै गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यसका साथै उनलाई २१ लाख रुपैयाँ बराबरको जरिवाना पनि तोकिएको थियो ।
थापा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका छन् । उनले एसियाली फुटबल महासंघ (एएफसी) का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अध्यक्ष, साथै फिफा र एएफसीका विभिन्न समितिमा पनि काम गरेका थिए ।