काठमाडौं । अमेरिकाको लस एन्जलसमा एक अनौठो कार्यक्रमको आयोजना हुन लागेको छ । त्यहाँको हलिवुड प्यालेडियममा शुक्राणु दौड (स्पर्म रेसिङ) को आयोजना गरिन लागिएको हो ।
यो आफ्नै प्रकारको पहिलो र संसारकै अनौठो कार्यक्रम बन्नेछ । एक माइक्रोस्कोपिक ट्र्याकमा दुईवटा शुक्राणु स्याम्पलबीच प्रतिस्पर्धा गराइनेछ । एचडी क्यामेराले शुक्राणुको गतिविधिलाई कैद गर्नेछ र जुन शुक्राणुले पहिला फिनिश लाइन पार गर्नेछ, उसलाई विजेता घोषणा गरिनेछ ।
तपाईंले यो इभेन्टलाई मजाक सम्झिन सक्नुहोला तर स्पष्ट छ- यो विज्ञानको हिसाबले डिजाइन गरिएको एक माइक्रो-एथलेटिक प्रतियोगिता हो ।
ट्र्याक कस्तो हुनेछ ?
यो रेसका लागि विशेष प्रकारको ट्र्याक तयार पारिएको छ । मानव प्रजनन प्रणालीको नक्कल गर्दै ट्र्याक डिजाइन गरिएको हो । यसमा फ्लुड डायनामिक्स (तरल पदार्थको प्रवाह), रासायनिक संकेतहरू र सही टाइमिङको ख्याल राखिएको छ । साथै एचडी क्यामेराको सहयोगमा दर्शकहरूले प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । सामान्य खेलकुदको झैं यहाँ पनि कमेन्ट्री, रिप्ले आदिको प्रयोग गरिनेछ जसले इभेन्टलाई अझ रोमाञ्चक बनाउनेछ ।
दौड कसरी हुन्छ त ?
दौडमा दुईवटा शुक्राणु स्याम्पल प्रयोग गरिनेछ । जसको शुक्राणु पहिले फिनिश लाइन पार गर्छ, त्यो स्याम्पल विजेता हुने छ । यो रेस इभेन्टमा दर्शकहरूले आफूले मन पराएको स्याम्पलमा बाजी (सट्टा) समेत लगाउन सक्नेछन् । यसैले यो कुनै पनि हिसाबले अन्य खेलकुद कार्यक्रमभन्दा कम हुँदैन । दर्शकहरूले यसलाई प्रत्यक्ष स्ट्रिमिङमार्फत पनि हेर्न सक्नेछन् ।
के हो यसको उद्देश्य ?
यो इभेन्ट आयोजना गर्नुको पछाडि एउटा ठूलो उद्देश्य छ । स्पर्म रेसिङ नामक कम्पनीले यो दौड आयोजना गर्न लागेको हो । कम्पनीको भनाइअनुसार उनीहरू यस रेसमार्फत यस्तो मुद्दालाई उजागर गर्न चाहन्छन्, जसबारे धेरैले खुलेर कुरा गर्न चाहँदैनन् ।
विशेषगरी पुरुषहरूको प्रजनन क्षमतासम्बन्धी चेतना फैलाउने उद्देश्य राखिएको छ । कम्पनीका अनुसार विगत ५० वर्षमा विश्वभर पुरुषहरूको शुक्राणु गणनामा ५० प्रतिशत गिरावट आएको छ । स्पर्म रेसिङ टोली भन्छ– शुक्राणु संख्या तपाईंको स्वास्थ्यको ठूलो सूचक हो ।
फन्डिङको छैन कमी
यो रेसको लागि पूँजीको कुनै अभाव छैन । आयोजकहरू अहिलेसम्म १० लाख डलर (१ मिलियन डलर) को फन्डिङ उठाइसकेका छन् । फिगमेन्टजस्ता कम्पनीहरूले यसमा लगानी गरेका छन् ।
आयोजकहरूको भनाइअनुसार धनी र सेलिब्रेटीहरू पनि यो इभेन्टमा सहभागी हुन सक्नेछन् । यस रेसलाई एक हजार मानिसले प्रत्यक्ष (अफलाइन) र हजारौंले अनलाइन हेर्न सक्नेछन् । कुनै गम्भीर मुद्दालाई जनचेतनाको रूपमा प्रस्तुत गर्न यो अहिलेसम्मकै अनौठो र सफल प्रयास बन्नेछ । यसले पुरुष प्रजनन क्षमतालाई बहसको विषय बनाउन सफल भएको स्पष्ट हुन्छ ।