काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाएको कारण नेपाल औषधि लिमिटेडले उत्पादन बन्द गर्नुपरेको भन्ने आरोप अस्वीकार गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार प्रक्रिया पूरा नगरेको कारण लिमिटेड खरिद प्रक्रियामा समावेश हुन नसकेको स्पष्ट पारे । उनले औषधि खरिदलाई किराना पसलबाट सामान किनेजस्तो रूपमा चित्रण गर्नु अनुपयुक्त भएको बताए ।
'हामी आफ्नै घरेलु तथा स्थानीय उद्योगलाई प्रोत्साहन गर्छौं,' प्रवक्ता बुढाथोकीले भने, 'तर टेन्डर प्रक्रियामा सहभागी भएर कागजातहरू पूरा नगरीकन कुनै पनि निकायबाट सिधै खरिद गर्न सकिँदैन । मन्त्रालय कानुनअनुसार मात्रै अघि बढ्छ ।'
डा. बुढाथोकीले औषधि लिमिटेडले सरकारी–सरकारी प्रक्रिया अपनाउन चाहेको भएपनि त्यसका लागि उद्योग तथा अर्थ मन्त्रालयको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको बताए । उनका अनुसार औषधि लिमिटेडले व्यावसायिक योजना बनाएर अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको भए पनि सो प्रस्ताव हालसम्म स्वीकृत भएको छैन ।
'मुख्यमन्त्री, सचिव लगायतका सरोकारवालासँग भएको छलफलमा औषधि लिमिटेडले व्यावसायिक योजना पेस गर्ने र अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै स्वास्थ्य मन्त्रालयले एमओयू गरेर खरिद प्रक्रिया अघि बढाउने सहमति भएको थियो,' उनले भने, 'तर अर्थ मन्त्रालयले प्रत्याभूति नदिएपछि हामीमा आवश्यक विश्वास नजागेपछि एमओयू प्रक्रिया अघि बढ्न सकेको छैन ।'
नेपाल औषधि लिमिटेडले कच्चा पदार्थ खरिद गरी उत्पादन बढाए पनि सरकारका निकायले औषधि खरिद नगरेपछि बजारमा बिक्री ठप्प भएको र त्यसैले सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधिको उत्पादन डेढ महिनादेखि रोकिएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले औषधि खरिदमा पारदर्शिता र कानुनी प्रक्रिया पालना गर्नुपर्ने जनाएको छ भने औषधि लिमिटेडले व्यावसायिक योजना र आर्थिक प्रत्याभूतिको सुनिश्चितता बिना उत्पादन निरन्तर गर्न कठिन भएको जिकिर गरेको छ । अब औपचारिक प्रक्रिया पूरा भएपछि मात्रै औषधि खरिदका लागि स्वास्थ्य मन्त्रालयबाट पहल हुने देखिएको छ ।