काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको सफलताका लागि कार्यशैली रूपान्तरण अपरिहार्य भएको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै उनले मौन बस्नुले सरकार सफल नहुने भन्दै, कमी कमजोरी औँल्याएर सुधारको बाटो देखाउनु सबैको जिम्मेवारी भएको बताए ।
शर्माले भने, 'सरकार कायम रहन्छ । तर यसको गति बढ्नुपर्छ । मौन धारणा राखेर सरकार सफल हुँदैन । जहाँ चुकिएको छ, त्यहाँ औँल्याउनुपर्छ । पार्टीका पदाधिकारीका हैसियतले हामीले सरकारलाई कमजोरी देखाएर सच्याउने काम गर्नुपर्छ ।'
प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको खण्डमा टिम व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने धारणा राख्दै शर्माले, 'जो प्रधानमन्त्री, उसैको टिम होस् । एमालेको प्रधानमन्त्री हुँदा एमालेकै टिम, काँग्रेसको प्रधानमन्त्री हुँदा काँग्रेसकै टिम हुने गरी सहमति गरौं,' भन्ने प्रस्ताव राखे ।
उनले साना दलहरूलाई सरकारमा समेट्ने र काँग्रेस बाहिरिएर समर्थनमै बस्ने तर कमजोरीमा प्रश्न उठाउने विकल्प पनि सुझाए । 'सत्ता पक्षमै बसेर सरकारलाई साथ दिने र निगरानी गर्ने भूमिका काँग्रेसले लिन्छ । भोलि काँग्रेसको प्रधानमन्त्री हुँदा एमाले पनि यस्तै भूमिकामा रहोस्,' उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै शर्माले सरकारको गति बढाउन खोजिएको आलोचनालाई आक्रमणको रूपमा नलिन आग्रह गरे । 'सरकारको आलोचना आक्रमण होइन, गति बढाउन आवाज उठाइएको हो । अब बहानाबाजी होइन, निष्पादन चाहिन्छ,' उनले स्पष्ट पारे ।
शर्माले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनु पर्ने पक्षमा रहेको उल्लेख गर्दै, शिक्षकको माग, गभर्नर र एआईजी नियुक्ति जस्ता विषयमा अब ढिलाइ सह्य नहुने चेतावनी पनि दिए ।