काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनका अनुसार, सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको भन्दै त्यसको विरोधमा निषेधित क्षेत्रमै प्रदर्शन गरिने भएको हो ।
राप्रपाले वैशाख ९ गते देशभरका ७७ वटै जिल्लामा विरोधसभा, धर्ना र प्रदर्शन गर्ने निर्णय पनि गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन विस्तार गर्दै आन्दोलनलाई सशक्त बनाउने रणनीति लिइएको उनले बताए ।
'सरकारको गैरजिम्मेवार कार्यशैली र अधिकार हननविरुद्ध हामी अब चुप लाग्दैनौं,' अध्यक्ष लिङदेनले भने, 'काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्नेछौं, ७७ वटै जिल्लामा पनि जनता सँगै सडकमा उत्रन्छन् ।'
बैठकले हालै तीनकुनेमा भएको आन्दोलनपछि पक्राउ परेका पार्टी नेताहरूको रिहाईका लागि राजनीतिक तथा कानूनी संघर्षलाई पनि तीव्र बनाउने निर्णय गरेको छ । साथै, आन्दोलनसँग सम्बन्धित सबै गतिविधिहरू व्यवस्थित गर्नका लागि विशेष कमिटी गठन गरिएको जानकारी दिइएको छ ।
राप्रपाले आन्दोलनका थप कार्यक्रमहरू चाँडै सार्वजनिक गर्ने जनाएको छ ।