काठमाडौं । देशका अधिकांश भूभागमा आजदेखि तीन दिनसम्म वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम बाहेक कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अहिले वर्षा भइरहेको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार भारतको उत्तर प्रदेशबाट आएको प्रणालीको असरका कारण वर्षा भइरहेको हो ।
'अबको तीन दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ,' मौसमविद् दाहालले बताए, 'अहिले मुसुरो, गहुँ जस्ता बाली काट्ने समय भएकाले मौसमबारे जानकारी लिएर मात्रै काम गर्नु उपयुक्त हुन्छ ।'
विभागले कृषकहरूलाई मौसम अनुकूल हेरेर मात्रै बाली भित्र्याउन सुझाव दिएको छ ।