काठमाडौंबाट हेटौंडा गइरहेको सवारी दुर्घटनाः २ जनाको ज्यान गयो, १४ घाइते

काठमाडौं । मकवानपुरमा सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।  

आज राति १ बजे मकवानपुरगढी गाउँपालिका-२ धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको यात्रु बाहक गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको तथा १४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका अनुसार बा प्र ०१-००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार १ बजे सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना ग्रस्त भएको हो । 

दुर्घटनाको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली खटिएको थियो । गाडीमा चालकसहित १६ जना सवार थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी रौतहटकी ५० वर्षीया नीलमदेवी राउतको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीका अनुसार सर्लाहीकी १३ वर्षीया मानुषी मगरको शव आज बिहान घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो । 

दुर्घटनामा घाइते भएका १० जनाको हेटौंडा अस्पताल र अन्यको  मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । 

Share News