३ घण्टा जाममा परेपछि मन्त्री दाहालले दाउन्नेमा चाँडो यातायात खुलाउन ठेकेदारलाई दिए निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हिलाम्य भएर राजमार्ग अवरुद्ध हुने क्रम बढेपछि दाउन्नेका ठेकेदारसँग छलफल गरेका छन् । 

शुक्रबार मन्त्री दाहालले सचिव, विभागीय प्रमुख, चिनियाँ ठेकेदार कम्पनी र परामर्शदाताबीच चितवनमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार बिहीबार मन्त्री दाहाल महेन्द्र राजमार्गको स्थलगत अनुगमनका लागि बुटवल हुँदै चितवन फर्किएका थिए । 

फर्कने क्रममा करिब ३ घन्टा जाममा परेपछि उनले आज बिहान ठेकेदारसँग छलफल गरेका हुन् ।

मन्त्री दाहालले झरी पर्न सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै वर्षाद् सुरु हुनुअघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिएका हुन् ।

दाउन्ने सडकखण्डमा तत्काल सडक बनाउने र ग्राभेल थपेर यातायात सुचारु हुने व्यवस्था मिलाउने विषयमा चिनियाँ ठेकेदार सहमत भएको सचिवालयले जनाएको छ ।

अहिले दाउन्ने सडक हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ ।

Share News