संघीय निजामती सेवा ऐन ल्याउन माग गर्दै राज्य व्यवस्था समितिलाई ११ बुँदे ध्यानाकर्षण

काठमाडौं । निजामती कर्मचारी संगठनहरूको संयुक्त ट्रेड युनियनले संघीय निजामती सेवा ऐन तत्काल ल्याउन माग गर्दै राज्य व्यवस्था तथा सुशासन समितिलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।

शुक्रवार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रतिनिधि टोलीले समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै कर्मचारीका आधारभूत मागहरूलाई सम्बोधन गर्न आग्रह गरे ।

ज्ञापन पत्र ग्रहण गर्दै सभापति खतिवडाले राज्यको स्रोत र साधनले भ्याएसम्म कर्मचारीहरूको सुविधा व्यवस्थित गर्ने गरी कानून ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले संविधान निर्माणमा निजामती कर्मचारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै त्यसको संरक्षणमा समेत उनीहरूकै सक्रिय सहभागिता अपेक्षित रहने विश्वास व्यक्त गरे ।

'राज्यको अवस्थाबारे तपाईंहरू कर्मचारीहरू अझ जानकार हुनुहुन्छ । तपाईंहरूको योगदानले संविधान बनेको हो, त्यसको संरक्षणमा पनि तपाईंहरूको भूमिका अझ महत्वपूर्ण हुनेछ,' खतिवडाले भने, 'हामी गर्न सक्ने जति काम गर्छौं भन्ने प्रतिबद्धता गर्छु ।'

ज्ञापन पत्रमा राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था गर्नुपर्ने, साथै विभिन्न सेवा सुविधा र अधिकारहरू विधेयकमार्फत सुनिश्चित गर्नुपर्ने मागहरू उल्लेख गरिएको छ ।

संयुक्त ट्रेड युनियनले लामो समयदेखि संघीय निजामती सेवा ऐन नआएकोप्रति असन्तुष्टि जनाउँदै निजामती कर्मचारीहरूको पेशागत सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ ।

Share News