सरकार परिवर्तनको हल्लामा सत्यता छैन, ढुक्कले काम गर्नुहोस् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हालको सरकारको स्थायित्वबारे फैलिएका हल्लामा कुनै सत्यता नभएको भन्दै ढुक्क भएर विकास र सुशासनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले इतिहास बोकेको दलहरूको साझेदारीमा बनेको सरकार स्पष्ट लक्ष्य र गन्तव्यमा अगाडि बढिरहेको बताए ।

उनले भने, 'देशलाई समृद्ध बनाउने, जनतालाई सुखी बनाउने र सुशासन कायम गर्ने हाम्रो उद्देश्य हो । त्यसैले हल्लामा नलागी ढुक्कका साथ आफ्नो कर्तव्यमा लाग्नुस् ।'

प्रधानमन्त्री ओलीले संविधान निर्माणकै क्रममा स्थानीय सरकारलाई शक्तिशाली बनाउने सोचअनुसार गाउँगाउँमा सिंहदरबार पुर्याउने व्यवस्था गरिएको उल्लेख गरे । 'प्रत्येक जनप्रतिनिधि र नागरिकले प्राप्त अधिकार र कर्तव्यलाई मनन् गरी संविधान कार्यान्वयनमा सहयोग गर्नुपर्छ,' उनले भने ।

प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माण कार्यक्रम ल्याइने जानकारी समेत दिए । नयाँ भवनले स्थानीय सरकारको सेवा प्रवाह र सुशासनमा थप सहजता ल्याउने उनको विश्वास छ ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटालगायतको उपस्थिति रहेको थियो ।

Share News