काठमाडौं । बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका बीमा सर्भेयरको संख्या पछिल्लो सात आर्थिक वर्षमा उल्लेखनीय वृद्धि भएको देखिन्छ ।
सात आवमा बीमा कम्पनीहरूमा सर्भेयरको संख्या ६६.६६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार आव २०७४/७५ मा बीमा सर्भेयरको संख्या ४१६ थियो । उक्त संख्या आव २०८०/८१ मा वृद्धि भएर १ हजार २४८ पुगेको छ ।
तथ्यांकअनुसार आव २०७४/७५ देखि आव २०७७/७८ सम्म बीमा सर्भेयरको संख्या ४ सय को हाराहारीमा थियो भने आव २०७८/७९ मा आइपुग्दा सो संख्यामा वृद्धि भएर १ हजार २ सयको हाराहारीमा पुगेको देखिन्छ ।
त्यसपछिका वर्षमा भने बीमा कम्पनीहरूमा त्यही संख्याकै हाराहारीमा सर्भेयरको संख्या रहेको तथ्यांक छ ।
आव २०७५/७६ मा ४३५ बीमा सर्भेयरको संख्या रहेकोमा आव २०७६/७७ मा सो संख्यामा केही कमी आएको देखिन्छ । उक्त आवमा ३५६ जना सर्भेयर बीमा कम्पनीमा संलग्न छन् ।
आव २०७९/८० मा १२ सय ४० जना सर्भेयरको संख्या पुगेको छ । उक्त आवमा साविकको बीमा समितिले धेरै सर्भेयरहरुको तालिम र अनुमतिपत्र प्रदान गरेकाले सर्भेयरको संख्यामा उल्लेखनीय वृद्धि हुन गएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
सक्रिय बीमा सर्भेयर
नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरलाई इजाजतपत्र (लाइसेन्स) दिने र नवीकरण गर्दै आएको छ । हाल बीमा कम्पनीमा आवद्ध १ हजार २४८ बीमा सर्भेयर प्राधिकरणमा नवीकरण भएका सर्भेयरको संख्या हो । तीमध्ये कतिजना नियमित रूपमा सक्रिय भएर काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक नभएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए ।
बीमा सर्भेयरको लागि अहिले बीमा ऐन २०८१ मा वार्षिक रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था लागू भएसँगै सक्रिय सर्भेयरको संख्यामा वृद्धि हुने उनको भनाइ छ ।
सर्भेयरको आवश्यक योग्यता
बीमा व्यवसायमा क्षति मूल्यांकनकर्ताको रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति बीमा सर्भेयर हुन् ।सर्भेयरले क्षति भएको घटनास्थलमा गएर क्षतिको मूल्यांकन गरेपछि त्यसको आधारमा दाबी भुक्तानी दिने गर्छ ।
बीमितले आफ्नो सम्पति क्षति भएको कुरा बीमकलाई जानकारी गराएपछि सम्बन्धित कम्पनीले क्षतिको मूल्यांकनको लागि सर्भेयरलाई खटाउन गर्दछ । बीमा सर्भेयर बन्नको लागि बीमा प्राधिकरणले बीमा नियमालीमार्फत निश्चित मापदण्ड तोकेको छ ।
बीमा नियमावली २०८१ को दफा ४६ अनुसार बीमा सर्भेयर बन्नको लागि इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ । त्यसबाहेक चार्टर्ड एकाउन्टेन्टेन्सी परीक्षा उत्तीर्ण हुनुपर्ने, स्नातक उपाधि हासिल गर्नुका साथै कुनै पनि जीवन बीमा कम्पनीमा वा प्राधिकरणमा १० वर्ष अधिकृतस्तरको पदमा काम गरेको हुनुपर्ने छ ।
इन्टर्नसीप गर्नुपर्ने
बीमा सर्भेयरको इजाजतपत्र (लाइसेन्स) प्राप्त गर्नुअघि निवेदकले कम्तीमा तीन महिना सम्बन्धित विषयको सर्भेयर वा बीमकमा इन्टर्नसीप गर्नुपर्ने हुन्छ ।
लाइसेन्स नवीकरण
बीमा सर्भेयरले लाइसेन्स नवीकरणको लागि लाइसेन्सको अवधि समाप्ति हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन दिनुपर्ने हुन्छ । बीमा सर्भेयरको ऐनको दफा ९४ को उपदफा (१) बमोजिमको अवधिभित्र नवीकरणको लागि निवेदन नदिएमा विलम्ब शुल्क तिरी नवीकरणको लागि निवेदन दिन पाइने व्यवस्थासमेत नियमावलीमा छ ।
कार्य अनुभवका आधारमा बीमा सर्भेयरहरूलाई तहगत आधारमा वर्गीकरण गरिएको हुन्छ । बीमा सर्भेयरको लाइसेन्स नवीकरणको लागि सर्भेयरले इजाजतपत्रको अवधि समाप्त हुनु अगावै बीमा सर्भेयर भई कार्य गरेको विवरण तथा कागजात संलग्न गरी प्राधिकरणमा निवेदन गर्नुपर्ने छ ।
संस्थागत सर्भेयरको हकमा लाइसेन्स प्राप्त गर्नको लागि सो कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख वा उच्च व्यवस्थापकमध्ये कम्तीमा एक जनाले बीमा सर्भेयरको सम्बन्धित विषयको तालिम लिई परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने छ । संस्थागत सर्भेयरले आफूले गर्ने सर्भेसँग सम्बन्धित विषयमा सर्भेयरको लाइसेन्सप्राप्त व्यक्तिलाई काममा लगाउन सक्ने प्रावधान छ ।
सर्भेयरले गर्न पाउने सर्भेको सीमा प्राधिकरणले निर्धारण गरे बमोजिम हुने नियामवलीमा उल्लेख छ । त्यस्तै, सर्भेयरको पारिश्रमिक पनि प्राधिकरणले निर्धारण गरेको मापदण्डको आधारमा बीमकले तोक्न सक्ने व्यवस्था नियमावलीमा छ ।
नियमावलीअनुसार प्राधिकरणले सर्भेयरलाई तीन प्रकारमा वर्गीकरण गरेको छ । प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा १५ वर्ष काम गरेको सर्भेयरलाई ‘क’ वर्गमा वर्गीकरण गरेको छ ।
प्राधिकरणले तोकेको न्यूनतम रकम र संख्या बराबरको सर्भे गरी कम्तीमा ७ वर्ष काम गरेको सर्भेयरलाई ‘ख’ वर्गमा र प्राधिकरणबाट लाइसेन्स लिई ‘क’ र ‘ख’ बमोजिमको योग्यता पूरा नभएको सर्भेयरलाई ‘ग’ वर्गमा वर्गीकरण गरेको छ । संस्थागत सर्भेयरको भने वर्गीकरण गरिएको छैन ।