काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सरकारसँग नेपाली श्रमिकको स्वास्थ्य सुरक्षामा सहयोग गर्न आग्रह गरेका छन् ।
अबुधाबीमा युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुर इब्राहिम अल मन्सुरीसँग शिष्टाचार भेट गर्दै मन्त्री पौडेलले युएईमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेको स्मरण गराउँदै उनीहरूको स्वास्थ्य हकको प्रत्याभूति गर्न दुई देशबीच सहकार्य आवश्यक भएको बताए ।
'प्रस्थान गर्नु अघि र फर्किएपछि श्रमिकहरूको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले विभिन्न कदम चालेको छ । युएई सरकारको सहयोग प्राप्त भएमा यसलाई अझ प्रभावकारी बनाउन सकिन्छ,' मन्त्री पौडेलले भने ।
भेटमा उनले नेपालमा स्वास्थ्य प्रणालीलाई डिजिटल प्रविधिमार्फत अगाडि बढाउने, सर्वसुलभ स्वास्थ्य बीमा प्रणाली कार्यान्वयन गर्ने तथा मृगौला डायलसिस केन्द्रको स्तरोन्नति र अंग प्रत्यारोपण सेवाको विस्तारका लागि युएई सरकारसँग सहकार्यको प्रस्ताव राखेका थिए ।
युएईका स्वास्थ्य विभाग अध्यक्ष मन्सुरीले नेपाली श्रमिकको योगदानको उच्च प्रशंसा गर्दै युएई नेपालसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताए । उनले भने, 'सम्झौता गरेर सहकार्य अगाडि बढाउन सकिन्छ, तर नेपाल सरकारले लगानीमैत्री कानूनी र नीतिगत वातावरण तयार गर्नुपर्छ ।'
भेटमा युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीसमेत सहभागी थिए ।
मन्त्री पौडेल युएईमा आयोजना हुने ‘नेपाल फेस्टिभल’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुँदैछन्, युएईस्थित नेपाली दूतावासले जनाएको छ ।