काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नगरे फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल बन्द गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशन कार्यक्रममा उनले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालको नियम मान्नुपर्ने भन्दै सरकारले तोकेको म्यादभित्र दर्ता नगरे प्रतिबन्ध गरिने बताएका हुन् ।
सञ्चार मन्त्रालयले चैत ७ गते सूचना निकालेर एक महिनाभित्र फेसबुक दर्ता हुन आह्वान गरेको थियो ।
सामाजिक सञ्जाल दर्ताका लागि सरकारले थप गरेको एक महिनाको म्याद सकिन केही दिन बाँकी रहेको भन्दै उनले फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उल्लेख गरे।
उनले सामाजिक सञ्जाल सम्बन्धी कानुन कुनै सञ्चारमाध्यमलाई बन्द गर्नका लागि नभइ नियमन गर्नका लागि ल्याइएको स्पष्ट पारे ।
उनले भने, ‘हाल दर्तासहित सम्पर्क बिन्दु तोकेको सामाजिक सञ्जाल टिकटक मात्रै छ । अब अरू सामाजिक सञ्जालका लागि पनि टिकटक जस्तै व्यवस्था रहेको छ । त्यसैले छिटोभन्दा छिटो दर्ता गर्ने भनेको हाैं । अब पनि नआए सिधैं बन्द गरिनेछ ।’
मन्त्री गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताए ।
यस्तै, सामाजिक सञ्जालमा जथाभावी लेख्ने, मनपरी गर्ने कुरा लोकतन्त्र नभएको भन्दै उनले सामाजिक सञ्जाल नियन्त्रण आवश्यक रहेको बताए ।