शिक्षक महासंघले प्रधानमन्त्रीलाई भेट्दै, आन्दोलनको मागबारे बताउने

काठमाडौं । विद्यालय शिक्षा विधेयकका विषयमा जारी आन्दोलनका सन्दर्भमा शिक्षक महासंघका प्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न लागेका छन् ।

महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार प्रधानमन्त्री ओलीले आज साँझ ७ बजेको समय दिएका छन् । 'प्रधानमन्त्रीलाई हाम्रो माग र आन्दोलनका मुद्दाबारे जानकारी गराउनेछौं,' महासचिव थापाले भने ।

प्रधानमन्त्रीसँगको भेटअघि महासंघका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् । 'आन्दोलनको समीक्षा र प्रधानमन्त्रीसँग उठाउने विषयमा तयारी गर्न बैठक बस्न लागेका हौं,' थापाले भने ।

२० चैतदेखि काठमाडौंमा शिक्षक महासंघको नेतृत्वमा आन्दोलन चलिरहेको छ । शिक्षा मन्त्रालयसँग वार्ता भए पनि अझैसम्म सहमति जुट्न सकेको छैन । महासंघले मन्त्रिपरिषद् र मन्त्रालयले गम्भीर निर्णय गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्न सकिने संकेत दिएको छ ।

शिक्षकहरूको मागलाई लक्षित गर्दै सरकारले १२ वैशाखमा संसदको वर्षे अधिवेशन बोलाएको छ । तर शिक्षक महासंघ हालसम्म आश्वस्त हुन सकेको छैन ।

Share News