काठमाडौं । गण्डकी प्रदेशको गौरवको कोरोला त्रिवेणी सडक आयोजना अन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिकाको डेढ गाउँसम्म सडक कालोपत्रे भएपछि यात्रा सहज भएको छ ।
घिरिङको मानपुरदेखि डेढ गाउँसम्मको ११ किलोमिटर खण्ड कालोपत्रको काम सकिएको हो । सडक कालोपत्र भएपछि यस ठाउँ भएर यात्रा गर्नेलाई सहज भएको छ । यसअघि ११ किलोमिटर कच्ची सडक पार गर्न २ घण्टा लाग्नेमा सडक कालोपत्र भएपछि उक्त दूरी १५ मिनेटमा छोटिएको स्थानीय सूर्यबहादुर रानाभाटले बताए ।
उनले भने, ‘सडक कच्ची हुँदा धुलो र हिलोले हैरानी थियो । सडक कालोपत्र भएसँगै सहज रूपमा आवतजावत गर्न पाएका छौँ ।’
सडक कालोपत्र भएसँगै घिरिङ गाउँपालिका-४ र १ का वासिन्दालाई आवतजावत गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । घिरिङ गाउँपालिका-१ को पुट्टार, अत्रौली र बैडीलगायतका स्थानबाट गाउँपालिकाको कार्यालय आउन अधिकांशले कालोपत्र सडक प्रयोग गर्ने गरेका छन् ।
उक्त सडक कालोपत्र गर्न विसं २०७६ फागुनमा ठेक्का लागेको थियो । सडक कालोपत्रका ठेक्का पाएको सपना निर्माण सेवाले उक्त खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरेको छ ।
उक्त सडकमा ट्रयाक खुलेको ३० वर्ष भयो । विसं २०५१ सालमा ट्रयाक खुलेको उक्त मार्ग कालोपत्र भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् २२ करोड ८५ लाख ४१ हजार ७९३ रुपैयाँ लागतमा उक्त मार्गको स्तरोन्नतिको काम अगाडि बढेको थियो । ३५ करोड १४ लाख ७४ हजार १०९ रुपैया लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार ३१६ रुपैयाँ कम रकममा सडक कालापत्रको ठेक्का पाएको थियो ।
यो बाटो कालोपत्र भएपछि पोखरादेखि मुग्लिन हुँदै नवलपुर जाने यात्रुले तनहुँको भिमाद हुँदै नवलपुर निस्कन छोटो बाटो प्रयोग गर्न सक्नेछन् । नवलपुरतर्फ बौदीकाली झ्यालबास १४.१ किलोमिटर कालोपत्र गर्न स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप ७ किलामिटर कालोपत्र गर्न बहु वर्षीय ठेक्काको प्रक्रिया अगाडि बढेको छ । झ्यालबासबाट चोरमारासम्म ९ किलोमिटर सडक निर्माण भइसकेको छ ।