'नीतिको ठाउँमा नाता, दाता र भ्राताको नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन'

काठमाडौं । सभामुख देवराज घिमिरेले राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको बताएका छन् । असल शासन संरक्षण मञ्चले आज आयोजना गरेको ‘राष्ट्रिय सुशासन शिखर सम्मेलन-२०२५’मा घिमिरेले राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन प्रत्याभूत गर्ने प्रतिबद्धता आवश्यक भएको बताए । 

‘राजनीतिक नेतृत्व र निर्वाचित जनप्रतिनिधिले सुशासन कायम गर्ने, राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्न आवश्यक छ । राजनीतिक नेतृत्वमा इमान्दारी र सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक छ,’ सभामुख घिमिरेले भने । 

राजनीतिक नेतृत्वमा सुशासनप्रतिको दृढता नहुँदा सम्म शासकीय र निर्वाचन प्रणाली परिवर्तन गरे पनि सुशासन सार्थक नहुने उनको भनाइ छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासन कायम गरी राज्यप्रति जनताको विश्वास जित्न नेतृत्व वर्ग आत्म केन्द्रित नभई मुलुक केन्द्रित हुनुपर्नेमा जोड दिए । 

‘जन असन्तुष्टि चिर्न नेतृत्व तह गम्भीर बन्नुपर्छ, नीतिको ठाउँमा नाता, नभए दाता, त्यो पनि नभए ‘भ्राता’को नियुक्ति भएपछि सुशासन कायम हुन सक्दैन, उनले भने । 

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सत्ता सञ्चालनमा जिम्मेवार राजनीतिक दल सुशासनका पक्षमा खरो नउत्रेसम्म यो नारामै सीमित हुने बताए । 

‘सरकार सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रणका लागि खरो उत्रनुपर्छ, सुशासनको खम्बाका रुपमा रहेका संसद्, न्यायालयलगायत संरचना जति बलिया हुन्छन् ती  त्यति नै प्रभावकारी हुन्छन्,’ उनले भने । 

सम्मेलनमा ‘नागरिक सहभागिता अभिवृद्धि र समावेशी सुशासन’, ‘सार्वजनिक सेवा प्रवाहमा रुपान्तरण’ र ‘दिगो विकास र नीतिगत सुधार’काबारेमा राजनीतिज्ञ, नीति निर्माता, विषयसँग  छलफल हुनेछ ।

Share News