काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछा मार्ने दुष्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज काठमाडौंको वसन्तपुरमा आयोजित खबरदारी सभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले विभिन्न कारणले संविधान जारी हुने बेला केही मुद्दा छाडे पनि माओवादी आफ्ना मुद्दाबाट पछि नहटेको धारणा राखे ।
पूर्वप्रधानमन्त्री दाहालले समाजवादको भ्रूण नेवार समुदायको इतिहास, भाषा, संस्कृतिमा र उत्पादनमा समेत रहेका बताए ।
नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उनको धारणा छ ।
‘नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । नेवार समुदायका कतिपय माग सम्बोधन गर्न आफ्नो सरकारको पालामा ठूलै सङ्घर्ष गर्नुपरेको थियो,’ पूर्वप्रधानमन्त्री दाहालले भने, ‘नेपाल संवतलाईराष्ट्रिय संवत् मेरै नेतृत्वमा घोषणा भयो । नेपाल भाषालाई सरकारी दस्तावेजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय भयो । हाम्रै सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।’
उनले नेवार समुदायको चाहना, संस्कृति, भाषा, इतिहास, आत्म निर्णयको अधिकार र इतिहास हराउन नदिन माओवादी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।