काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले आज पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रहरी र स्थानीय समुदाय, सङ्घसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राखे ।
विभिन्न सचेतना मूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समेत सामुदायिक सेवा केन्द्रको योगदान भएको खण्डमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने उनले बताए ।
प्रहरी महानिरीक्षक थापाले भने, ‘समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराइ अपराधीलाई कानुनी दायरामा ल्याउन समुदाय र प्रहरीको साझेदारी आवश्यक छ । यसबाट छिटो अपराध अनुसन्धानमा सहयोग पुग्दछ ।’
थापाले देशभर रहेका १८१ सामुदायिक सेवा केन्द्रले प्रहरी र नागरिकका बीचमा पुलको रूपमा काम गरेर सुमधुर सम्बन्ध कायम राखी शान्ति सुव्यवस्था, अमन चयन कायम राख्ने तथा अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गरेको बताए ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भीम पराजुलीले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा घट्ने आपराधिक घटनामा कमी आएको बताए ।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गङ्गा थापा लगायतले सामुदायिक सेवा केन्द्रको भूमिकालाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।