बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन सकेन : कांग्रेस उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विनियोजित बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको बताएका छन् ।

कांग्रेस स्याङ्जा-काठमाडौं सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताए ।

स्याङजाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गुरुङले स्याङ्जाका सडकलाई जोखिम मुक्त बनाउने अभियानमा आफू लागेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिदेखि भित्री सडक जोखिम मुक्त बनाउने अभियानमा आफू लागेको उल्लेख गरे । 

उपसभापति गुरुङले विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर समाज, जिल्ला र समग्र मुलुकको विकास सम्भव हुने धारणा राखे । एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने भन्दै उनले आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए । 

Share News