बैंकिङ प्रणालीबाट ३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ बराबरको तरलता बैंकिङ प्रणालीबाट खिच्न लागेको छ । मौद्रिक प्रणालीमा देखिएको अतिरिक्त तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोल गर्दा घटिमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँको गुणा हुनेगरी निःशेष भाग रहने हिसाबले प्रस्ताव पेश गर्न सकिनेछ ।

निक्षेप संकलन उपकरण ब्याजदरमा प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमा आधारित हुनेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ । संकलित रकमको मूलधन र ब्याजको भुक्तानी भने २८ वैशाखमा गरिने राष्ट्र बैंकले जनाएको छ ।

यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन् । साथै, निक्षेप संकलन उपकरण खरिद गरेपछि सो उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ ।

Share News