काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा मुलुकको आयात १२.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार याे अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएका छन् ।
गत वर्ष सोही अवधिमा आयात ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ थियो । आयात वृद्धिसँगै व्यापार घाटा समेत बढेको छ ।
विभागका अनुसार यस वर्षको पहिलो ९ महिनामा व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ थियो । व्यापार घाटा ६.४५ प्रतिशतले वृद्धि भएको हो ।
यसबाहेक कुल वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेर १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
निर्यात ६५ प्रतिशतले वृद्धि
यस अवधिमा निर्याततर्फ भने उत्साहजनक सुधार देखिएको छ । नेपालले ९ महिनामा १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा निर्यात १ खर्ब १३ अर्ब ९४ करोड रुपैयाँमा सीमित थियो ।
यो वृद्धिदर ६५.१६ प्रतिशत हो । निर्यातको अनुपात कुल व्यापारमा १२.५७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ८.८९ प्रतिशतको तुलनामा ४१.३० प्रतिशतले वृद्धि भएको हो ।
विभागका अनुसार नेपालले सबैभन्दा बढी डिजेल ९१ अर्ब २६ करोड, कच्चा सोयाबिन तेल ६६ अर्ब ०५ करोड, पेट्रोल ४७ अर्ब ७७ करोड र एलपी ग्यास ४६ अर्ब ५८ करोड रुपैयाँ बढीको आयात गरेको देखिन्छ ।
त्यस्तै, नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा सोयाबिन तेल रहेको छ । सोयाबिन तेल ६२ अर्ब ७८ करोड रुपैयाँ बढीको निर्यात भएको छ । सोयाबिन पछि सूर्यमुखी तेल ९ अर्ब २३ करोड, गलैँचा ८ अर्ब ०९ करोड र ठूलो अलैंची ६ अर्ब २६ करोड रुपैयाँ बढीको निर्यात भएको विभागले जनाएको छ ।