काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास अर्थात चैत्र मसान्तसम्ममा सञ्चालनमा रहेका राष्ट्रियस्तरका ८ विकास बैंकले साढे ३ अर्बभन्दा बढी नाफा कमाएको छ ।
विकास बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेका हुन् ।
८ विकास बैंकले चालु आवको चैत्र मसान्तसम्ममा आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ४.३५ प्रतिशले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
राष्ट्रियस्तरका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । उक्त विकास बैंकले तेस्रो त्रैमाससम्ममा ७३ करोड ३४ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गरिमाले चालु आवको चैत्रसम्ममा आर्जन गरेको नाफा गत आवको सोही अवधिको तुलनामा ७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले ६८ अर्ब ३४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
धेरै नाफा कमाउने दोस्रो राष्ट्रियस्तरको विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । धेरै नाफा कमाउनेमा मुक्तिनाथ दोस्रो नम्बरमा रहेको भएता पनि उक्त बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा १६.८६ प्रतिशतले कम हो ।
मुक्तिनाथले गत आवको चैत्र मसान्तसम्मममा ८७ करोड १८ लाख २५ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिममा ७२ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको छ ।
धेरै नाफा कमाउने तेस्रो विकास बैंकमा शाइन रेसुँगा विकास बैंक रहेको छ । उक्त विकास बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ५१ करोड ४० लाख नाफा कमाएको छ । जुन नाफा गत आवको तुलनामा ०.१३ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमाससम्मममा उक्त बैंकले ५१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
चालु आवको तेस्रो त्रैमासमा लुम्बिनी विकास बैंकको नाफामा पनि गिरावट आएको छ । चैत्रसम्ममा लुम्बिनी विकास बैंकले ४ करोड ९७ लाख ८३ हजार रुपैयाँको नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८५.४५ प्रतिशले कम हो । गत आवमा लुम्बिनी विकास बैंकले ३४ करोड २१ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कामना विकास बैंकको चालु आवको चैत्रसम्ममा नाफा ४८.८३ प्रतिशतले बढेको छ । उक्त विकास बैंकले चैत्रसम्ममा ४९ करोड ३१ लाख नाफा आर्जन गरेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंकले ९ महिनामा ४३ करोड ६५ लाख, सांग्रिलाले ४३ करोड ४२ लाख र ज्योति विकास बैंकले ३० करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

अन्य विकास बैंकहरूमा सिन्धु विकासले ९ महिनामा ७ करोढ ८४ लाख ५१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । सिन्धु विकास बैंकले गत आवको सोही अवधिमा ५ करोड ४० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले ९ करोड २४ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवमा उक्त कम्पनीको नाफा ६ करोड ८२ लाख ७८ हजार रुपैयाँ थियो ।
त्यस्तै, कर्पोरेट विकास बैंकको नाफा १ करोड ७७ लाख ८१ हजार, ग्रीन डेभलपमेन्टको २ करोड १२ लाख ८४ हजार र नारायणी डेभलपमेन्ट १ करोड २६ लाख नाफा आर्जन गरेको छ ।
आईसीएफसी फाइनान्सको नाफामा उछाल, अन्य वित्त कम्पनीको कस्तो ?
चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार आईसीएफसी फाइनान्सको नाफामा आक्रामक रुपले वृद्धि भएको छ । उक्त फाइनान्सले चालु आवको चैत्रमसान्तसम्ममा १९ करोड ५० लाख ९३ हजार रुपैयाँ नाफा कमाएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ४८९ प्रतिशतले बढी हो । कम्पनीले गत आवको सोही अवधिमा ३ करोड ३२ लाख ७५ हजार रुपैयाँ कमाएको थियो ।
धेरै नाफा कमाउने दोस्रोमा फाइनान्समा रिलायन्स रहेको छ । रिलायन्सले गत आवको तेस्रो त्रैमाासको तुलनामा २६९.७५ प्रतिशत बढी नाफा आर्जन गरेको छ । रिलायन्सले चालु आवको तेस्रो त्रैमासमा १७ करोड ४७ लाख ११ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ७२ लाख ५१ हजार रुपैयाँ थियो ।
मन्जुश्री फाइनान्सले ९ महिनामा १७ करोड ११ लाख १९ हजार नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.३३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १५ करोड ९ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
चालु आवको ९ महिनामा जानकी फाइनान्सको नाफामा १८.१३ प्रतिशतले सुधार आएको छ । गत वर्षको चैत्रसम्ममा १० करोड ८६ लाख ३० हजार नाफा कमाएको जानकी फाइनान्सले चालु आवको सोही अवधिमा १२ करोड ८३ लाख २५ हजार नाफा कमाएको छ ।
त्यस्तै, प्रोग्रेसिभ फाइनान्सले ९ महिनामा ९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको चैत्रसम्ममा ५ करोड ४९ लाख नाफा कमाएको प्रोग्रेसिभले चालु आवको सोही अवधिमा ६४.७३ प्रतिशतले नाफा वृद्धि गरेको हो ।
अन्य वित्त कम्पनीहरूमा बेष्ट फाइनान्सले ७ करोड ५२ लाख, गुर्खाजले ६ करोड २१ लाख, श्री इन्भेष्टमेन्टले ४ करोड ९१ लाख, मल्टीपर्पसले २ करोड १६ लाख र गुडवीलले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
दुई वित्त कम्पनीको नाफामा गिरावट
वित्त कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ९ महिनामा गुह्वेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको नाफामा गिरावट आएको छ । ९ महिनामा कम्पनीको नाफा गत आवको तुलनामा ४१.०२ प्रतिशतले घटेको छ ।
चालु आवको तेस्रो त्रैमासमा गुहेश्वरीले ३ करोड २४ लाख ९० हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा उक्त वित्त कम्पनीले ५ करोड ५० लाख ९३ हजार नाफा आर्जन गरेको थियो ।
पोखरा फाइनान्सको नाफामा पनि गिरावट देखिएको छ । पोखरा फाइनान्सले ९ महिनामा ३ करोड २४ लाख ९० हजार नाफा आर्जन गरेको छ । जुन गत आवको तुलनामा ५८.२४ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीहरूले १७ करोड २३ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
