काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म ६ बैंकको वितरणयोग्य नाफा १६ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ ।
यस अवधिमा हिमालयन बैंकको सबैभन्दा धेरै हिमालयन बैंकको ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । एनआईसी एशिया बैंकको ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ४० करोड २० लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ ।
यस्तै, कुमारी बैंकको १ अर्ब १३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) १ अर्ब १० करोड ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २ करोड २ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।
राष्ट्रिय वाणिज्य र प्रभु बैंकको वितरणयोग्य नाफा गत वर्षको चैतमा धनात्मक थियो भने हिमालयन, एनआईसी एशिया, कुमारी र एनआईएमबिको गत वर्ष पनि ऋणात्मक थियो ।
यी बैंक धनात्मक बने
माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । गत वर्षको चैतमा यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो ।
ग्लोबल आइएमईको ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, एनएमबिको १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ, लक्ष्मी सनराइजको ७७ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको ३० करोड ६२ लाख रुपैयाँ, सिद्धार्थको १८ करोड ८४ लाख रुपैयाँ र माछापुच्छ«ेको ७ करोड ७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा सबैभन्दा वितरणयोग्य नाफा एभरेष्ट बैंकको रहेको छ । एभरेष्टको ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ वितरण गर्ने नाफा रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ५ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १६ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।
यस्तै, कृषि विकास बैंकको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ, प्राइम बैंकको १ अर्ब ७३ करोड २३ लाख रुपैयाँ र नबिल बैंकको २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।
कुन बैंकको कति लाभांश क्षमता ?
समीक्षा अवधिमा वितरणयोग्य नाफाका आधारमा एभरेष्टको लाभांश क्षमता प्रतिसेयर ३४.०९ रुपैयाँ रहेको देखिन्छ । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै हो ।
यस्तै, स्ट्याण्डर्ड चार्टर्डको १९.३५ रुपैयाँ, सानिमाको १८.९२ रुपैयाँ, नबिलको १२.६८ रुपैयाँ, कृषि विकासको १२.२५ रुपैयाँ, ग्लोबल आइएमईको १२.०४ रुपैयाँ, नेपाल एसबीआईको ११.१० रुपैयाँ, प्राइम बैंकको १०.५७ रुपैयाँ लाभांश क्षमता छ ।
यस्तै, एनएमबिको ६.६५रुपैयाँ, लक्ष्मी सनराइजको ३.१७ रुपैयाँ, नेपाल बैंकको २.७८ रुपैयाँ, सिद्धार्थको १.७५ रुपैयाँ, सिटिजन्सको १.६९ रुपैयाँ र माछापुच्छ्रेको ०.३६ रुपैयाँ लाभांश क्षमता राखेका छन् । 