काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेलाई गैरकानुनी रूपमा थुनिएको दाबी गर्दै उनकी पत्नी निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी थिइन् ।
सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि आजको पेसी तोकिएको हो ।
यसअघि लामिछानेले आफूलाई थुनामा पठाउने उच्च अदालत बुटवलको आदेशविरुद्ध सर्वोच्च अदालतमा छुट्टै निवेदन दर्ता गराएका थिए । सो निवेदनमा सर्वोच्चले आवश्यक कागजातहरू झिकाइसकेको छ । तर, उक्त मुद्दाको टुंगो लाग्न समय लाग्ने देखिएपछि बन्दी प्रत्यक्षीकरणमार्फत तत्काल रिहाको माग गरिएको हो ।
सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, सो आदेशलाई उच्च अदालत बुटवल इजलासले चैत २२ गते बदर गर्दै थुनामा पठाउन निर्देशन दिएको थियो । सोही आदेशपछि राति नै लामिछानेलाई प्रहरीद्वारा घरबाट नियन्त्रणमा लिइएको थियो र भोलिपल्ट २३ गते उनलाई रुपन्देहीस्थित भैरहवा कारागारमा पठाइएको थियो ।