काठमाडौंमा १९ औं दिन पनि शिक्षक आन्दोलन, शिक्षा ऐनको माग यथावत

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूले सोमबार पनि काठमाडौंमा प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्मको सडक खण्डमा शिक्षकहरूले प्रदर्शन गर्दै तत्काल शिक्षा विधेयक पारित गर्न माग गरेका हुन् । उनीहरू विगत १९ दिनदेखि नियमित रूपमा आन्दोलनमा छन् ।

सरकारले वैशाख १२ गतेबाट सुरु हुने बजेट अधिवेशनमा विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि शिक्षकहरू विश्वस्त देखिएका छैनन् । उनीहरूले अघिल्लो पटक भएका सम्झौता कार्यान्वयन नभएको अनुभव दोहोरिन सक्ने भन्दै योपटक विधेयक पारित नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

'सरकारको प्रतिबद्धता कागजी मात्र नहोस्, ऐन जारी भएपछि मात्र विद्यालय फर्किन्छौं,' आन्दोलनरत एक शिक्षकले भने ।

शिक्षकहरूको मागप्रति सरकार गम्भीर देखिए पनि विधेयक कहिले जारी हुन्छ भन्नेमा अन्योल छ । सरकारले भने शिक्षा विधेयक र शिक्षकको माग सम्बोधन गर्न बजेट अधिवेशन नै आह्वान गरिएको स्पष्ट पारेको छ ।

शिक्षकहरूले ऐन जारी भएको दिनबाटै आन्दोलन फिर्ता लिने र पठनपाठन सुचारु गर्ने बताएका छन् ।   

Share News