काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषको ५८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको हो ।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ४६ करोड ४० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ७० लाख, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ९० लाख रुपैयाँ लगानी गरिनेछ ।
३ सय ६६ दिन अवधिको मुद्दती निक्षेप आगामी १६ वैशाख २०८२ देखि लागू हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ११ वैशाख बिहान १० बजेदेखि दिउँसो १:३० भित्र आवेदन दिनुपर्नेछ ।
राष्ट्र बैंकले केही सर्तहरू पनि तोकेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आइसकेको, कुल पूँजीकोष, कर्जा र निक्षेप अनुपात, तरल सम्पत्ति, निष्क्रिय कर्जा जस्ता सूचकांकहरू राष्ट्र बैंकको मापदण्डभित्र रहनुपर्नेछ ।
साथै, समस्याग्रस्त सूचीबाट मुक्त भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने सर्त राखिएको छ ।