काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्वीटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तथ्याङ्क अनुसार अधिकांश बैंकहरूको आरओई ०.६९ प्रतिशत घटेर औसत ७.७८ प्रतिशतमा झरेको छ । गत आवको चैतमा २० वटा बैंकको आरओई ८.४७ प्रतिशत थियो ।
रिटर्न अन इक्वीटी लगानीकर्ताको सम्पत्ति माथि बैंकले दिने प्रतिफल हो । आरओई घट्नु भनेको लगानीकर्ताले पाउने प्रतिफल पनि घट्नु हो । तर, पछिल्लो समय बैंकहरूको व्यवसाय खुम्चिएसँगै आरओईमा त्यसको असर परेको देखिन्छ । बैंकको व्यवसाय विस्तार हुँदा नाफा बढेसँगै आरओईवृद्धिमा समेत टेवा पुग्ने गर्छ ।
समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई एभरेष्ट बैंकको रहेको छ । गत वर्षको चैतको तुलनामा एभरेष्टको आरओई २.७८ प्रतिशत बढेर १५.८२ प्रतिशत बिन्दुमा पुगेको छ । गत वर्षको चैतमा बैंकको आरओई १३.०४ प्रतिशत बिन्दु थियो ।
यस्तै, गत वर्षको चैतको तुलनामा २.२० प्रतिशत घटे पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको आरओई १४.०३ प्रतिशत बिन्दु रहेको छ । नबिल बैंकको ११.३ प्रतिशत, एनएमबि बैंकको १०.४५ प्रतिशत, सानिमा बैंकको १०.३५ प्रतिशत, नेपाल बैंकको १०.०४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ९.६७ प्रतिशत आरओई रहेको छ ।
माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक (डीजीएम) सुभाष जमरकटेल बैंकहरूले ठूलो रकम प्रोभिजन गर्नु परेकाले आरओई घटेको बताउँछन् ।
‘पछिल्लो समय एक्सपेटेड क्रेडिट लस (ईसीएल) अनुसार ब्याज नतिर्नेहरूको पनि प्रोभिजन गर्नुपर्ने हुन्छ । पहिला एनएफआरएसमा अलग थियो । जसले आम्दानी बढ्थ्यो । तर, पछिल्लो समय ईसीएल आइसकेपछि ९० दिनभन्दा बढी ओभरड्यूज भएकाहरूको पनि राख्नुपर्ने हुन्छ । त्यसैले बैंकहरूले ठूलो रकम प्रोभिजन गर्दा आरओई घटेको हो,’ उनले भने ।
उनका अनुसार बैंकहरूको स्प्रेड दर पनि संकुचन भइरहेको छ । विगतमा ४ प्रतिशत कायम गरिरहेका बैंकहरूको अहिले ४ प्रतिशतभन्दा तल झरेको उनको भनाइ छ ।
‘स्प्रेड दर विस्तारै घट्दै ४ प्रतिशतभन्दा तल छ । आर्थिक गतिविधि पनि बढेको छैन । अर्थतन्त्र धेरै चलायमान हुँदा अन्य क्रियाकलाप पनि बढ्छन् । तर, चलायमान नहुँदा अन्य कारोबार पनि हुन सकेको छैनन्,’ डीजीएम जमरकटेलले भने, ‘बैंकहरूमा निक्षेप थुप्रिने र लगानी नहुँदा पनि त्यसको असर परेको हो । ८० प्रतिशतभन्दा माथि सीडी रेसियो भएका बैंकलाई खासै असर गर्दैन । तर, ८० प्रतिशतभन्दा कम सीडी रेसियो भएका बैंकलाई प्रोफिट्याबिलिटीमा असर गर्छ ।’
चैतसम्म ग्लोबल आइएमई बैंकको आरओई ९.४८ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२२ प्रतिशत, नेपाल एसबीआई बैंकको ८.१४ प्रतिशत, सिद्धार्थ बैंकको ७.८१ प्रतिशत, प्रभु बैंकको ७.४३ प्रतिशत, प्राइम बैंकको ७.१२ प्रतिशत, कृषि विकास बैंकको ६.८८ प्रतिशत रहेको छ ।
यस्तै, सिटिजन्स बैंकको ५.८१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.२ प्रतिशत, हिमालयन बैंकको १.८१ प्रतिशत, कुमारी बैंकको १.०८ प्रतिशत, एनआईसी एशिया बैंकको ०.७१ प्रतिशत रिटर्न अन इक्विटी रहेको छ ।