काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । सिफारिस समिति गठन भएको एक महिनासम्म एउटा पनि बैठक नबसेपछि राजीनामा दिएको भट्टराईले विकासन्युजसँग बताए ।
‘एक महिनामा एउटा पनि बैठकमा नबस्ने कमिटीमा कोही पनि बस्दैन । मेरो ठाउँमा अन्य कुनै व्यक्तिलाई राखेको भएपनि उसले पनि राजीनामा दिन्थ्यो,’ उनले भने ।
राष्ट्र बैंकको गभर्नर अरूले नै छान्ने हो भने आफूहरू सिफारिस समितिको सदस्यमा बसिरहनुको औचित्य नरहेको भट्टराईको भनाइ छ । आफूलाई सदस्य बनाएर रबर स्ट्याम्प बनाइएकाले समितिको सदस्यबाट राजीनामा दिएको उनले बताए ।
‘यदि उहाँहरूले छान्ने हो भने हामीले किन बस्ने, हाम्रो औचित्य के हो ? हामी रबर स्ट्याम्प मात्रै हुने हो भने हाम्रो औचित्य नै रहेन । आफ्नो भएको नाम पनि जान्छ,’ उनले भने ।
विगतमा माफियाविरुद्ध लडेर पुनर्बहाली भई अवकाश भएको र सिफारिस समितिमा रहेर शत्रु कमाउने आफ्नो चाहना नरहेको भट्टराईको भनाइ छ ।
‘मैले माफियासँग लडाइ लडेँ, यो मान्छे भ्रष्टाचारी होइन, निर्दोष हो भनेर पुनर्बहाली भएर अवकाश पाएको मान्छे हुँ,’ उनले भने, ‘मलाई विवादमा पर्नु छैन । म यो उमेरमा कुनै विवादमा पर्न पनि चाहन्नँ । मलाई शत्रु बनाउन पनि छैन ।’
भट्टराई राष्ट्र बैंकका पूर्वगभर्नर हुन् । विसं २०६१ माघ १८ गते नियुक्त भएका भट्टराई विसं २०६६ साल माघ १७ गतेसम्म गभर्नर पदमा रहेका थिए । तर, उनलाई भ्रष्टाचारको आरोपमा सरकारले विसं २०६५ माघ २ गते निलम्बन गरेको थियो । छानबिनपश्चात सफाइ पाएपछि विसं २०६६ साउन ११ गते उनी पुनर्बहाली भएका थिए ।
२०८१ चैत ११ गते बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो । समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल र भट्टराईलाई सदस्य नियुक्त गरेको थियो ।