काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उच्चस्तरीय समितिका संयोजक तथा पूर्वअध्यक्ष डा. शेष घलेले सर्वोच्च अदालतको आदेशअनुसार तय भएको मितिमा नै महाधिवेशन हुने स्पष्ट पारेका छन् ।
वैशाख २०-२२ गतेका लागि तय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै उनले सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयको निर्देशन र परराष्ट्र मन्त्रालयको समन्वयमा महाधिवेशन समयमै सम्पन्न हुने बताएका हुन् ।
'सर्वोच्चको आदेश पालना गर्नु सबैको साझा दायित्व हो,' घलेले भने, 'मिति परिवर्तन गर्नु ‘रुल अफ ल’ को उल्लंघन हो, त्यसैले हामी त्यसो गर्न सक्दैनौं ।'
उनले महाधिवेशन बिथोल्ने कुनै पनि गतिविधि नगर्न सम्पूर्ण सरोकारवालालाई आग्रह गरेका छन् । विश्वका विभिन्न मुलुकबाट प्रतिनिधिहरू काठमाडौं आउन थालेको जानकारी दिँदै उनले महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सबै गैरआवासीय नेपालीहरूलाई आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न आह्वान गरे ।
संघलाई रिब्राण्डिङ गर्दै नयाँ ढंगले अघि बढाउने अभियानमा आफूहरू जुटेको उल्लेख गर्दै घलेले एकता, संवाद, र सहकार्यमार्फत संस्थालाई सुदृढ बनाउने दृढता व्यक्त गरे ।