दराज नेपालले ल्याउँदै ‘च्वाइस’ अप्शन, सस्तो र छिटो डेलिभरी हुने

काठमाडौं । अनलाइन बजार दराज नेपालले ग्राहकहरूका लागि नयाँ अप्शन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी गरेको छ । यस सुविधामार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा छानिएका १ हजारभन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् ।

च्वाइस अप्शन दराजको एपमा होमपेज वा सर्च फिल्टरमार्फत सजिलै पहुँचयोग्य हुनेछ । यस सुविधाले एकै कार्टमार्फत सामान अर्डर गर्ने, १–३ दिनभित्र छिटो डेलिभरी पाउने, निःशुल्क डेलिभरी तथा उपहारको सुविधा लगायत विविध लाभ दिनेछ । न्यूनतम मूल्य १३० रुपैयाँदेखि सुरु हुने यी सामानहरूमा विशेष अफर र बिना झन्झट १४ दिनभित्र फिर्ता गर्ने सुविधा पनि उपलब्ध हुने दराजले जनाएको छ ।

‘च्वाइस’ सँगै दराजको पे डे सेल अप्रिल २५–२९ का लागि आकर्षक अफर पनि सुरू हुँदैछ । च्वाइसमार्फत युनिलिवर, डाबर, गोद्रेज, प्रोक्टर एन्ड ग्याम्बल जस्ता ब्रान्डका ग्रोसरी, पर्सनल केयर, हाउसहोल्ड, बेबी केयर लगायतका सामग्री उपलब्ध हुनेछन् ।

दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन्, 'च्वाइस ग्राहकलाई स्तरीय, छिटो र भरपर्दो सेवा दिने हाम्रो दीर्घकालीन लक्ष्यको अभिन्न हिस्सा हो ।' दराजका ग्लोबल हेड अफ च्वाइस जिआंग हान एडेलाले पनि यस सुविधाले बिक्रेताका लागि दीर्घकालीन अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

यस सुविधाले दराजको ब्रान्ड विश्वास, सेवा पहुँच र उपभोक्ता सन्तुष्टि लाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।  

Share News