कोइकाको ४.७ मिलियन डलरको ग्रामीण विकास परियोजना सम्पन्न, स्वास्थ्य र आम्दानीमा सुधार

काठमाडौं । कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले पाँच वर्षे ‘एकीकृत दृष्टिकोणबाट स्वास्थ्य र आम्दानी वृद्धिमार्फत ग्रामीण समुदाय सशक्तीकरण’ परियोजना सफलतापूर्वक सम्पन्न गरेको छ । कोरिया डेभलपमेन्ट स्ट्राटेजी इन्स्टिच्युट कन्सोर्टियमको सहकार्य र धुलिखेल अस्पतालको साझेदारीमा सञ्चालन गरिएको यस परियोजनाको कुल बजेट ४.७ मिलियन अमेरिकी डलर रहेको थियो ।

२०२५ अप्रिल २४ मा काठमाडौंको स्क्वायर होटलमा आयोजित समापन कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय, संघीय तथा स्थानीय सरकार, कोरियाली राजदूतावास, कोइका नेपाल, धुलिखेल अस्पताल, नागरिक समाजलगायत १५० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

परियोजना तनहुँ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका चार आउटरीच केन्द्रमार्फत सञ्चालित भएको थियो । कृषि क्षेत्रमा संकलन केन्द्र, सवारी, डेमो फार्म स्थापना गरी किसान समूहलाई तालिम दिइयो भने गैर-कृषकलाई उद्यमशीलता तथा व्यावसायिक तालिम प्रदान गरेको थियो ।

स्वास्थ्य क्षेत्रमा दुई नयाँ आउटरीच केन्द्र निर्माण गरिनुका साथै स्वास्थ्यकर्मी र विद्यार्थीलाई तालिम दिइएको थियो । परियोजनाले स्थानीय स्वामित्व, आम्दानी तथा स्वास्थ्य सुधारका साथै सामाजिक एकता पनि मजबुत बनाएको छ ।

कोइका नेपालका निर्देशक कोङ मुहुनले परियोजनाले कृषि र स्वास्थ्यको एकीकृत संयोजनबाट समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताए । धुलिखेल अस्पतालका डा. विराजमान कर्माचार्यले परियोजनाको प्रभाव स्थलगत रूपमा स्पष्ट देखिएको भन्दै निरन्तरताको माग राखे ।

कोरियाली सरकार १९९१ देखि नेपालमा स्वास्थ्य, व्यावसायिक तालिम, सूचना प्रविधि र ग्रामीण विकासमा सहकार्य गर्दै आइरहेको छ । २०२४ सम्म कोइकाले नेपालमा २०० मिलियन डलरभन्दा बढी सहयोग गरिसकेको छ । नेपाल १५ वर्षदेखि कोरियाको ‘कोर पार्टनरशिप देश’ मा निरन्तर रहँदै आएको छ ।

Share News