काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको प्रक्रिया सर्वोच्च अदालतले लामो समयदेखि रोक्दै आएको भन्दै अदालतमाथि गम्भीर प्रश्न उठाएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित 'आजको लोकतन्त्रः अवसर र चुनौती' विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अदालत, अख्तियार र संसदजस्ता लोकतन्त्रका संस्थाप्रति जनविश्वास घट्दै गएको बताए । 'संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा अदालतले चार वर्षसम्म फैसला नगरी झुलाएर राखेको छ, यसले अदालतको विश्वसनीयता कमजोर बनाएको छ,' उनले भने ।
थापाले अख्तियारले समेत अनुसन्धानपछि दोषी पत्ता लगाएर पनि राजनीतिक दबाबका कारण कारबाही नगरेको आरोप लगाए । 'अहिले जनतामा अदालत, अख्तियार, संसद र राजनीतिक दलप्रति गहिरो संशय छ, यो नै लोकतन्त्रको सबैभन्दा ठूलो चुनौती हो,' उनले प्रस्ट पारे ।
महामन्त्री थापाले नेपाली काँग्रेसले लोकतन्त्रको रक्षा गर्नुपर्ने दायित्व बोकेको उल्लेख गर्दै, आवश्यक परे सरकारबाट बाहिरिन पनि तयार रहने धारणा राखे । साथै, पूर्वराष्ट्रपतिहरू दलमा फर्किने चर्चा भइरहेको बेला काँग्रेसले यस्तो अभ्यास नगर्ने स्पष्ट संकेत पनि दिए ।
'राष्ट्रपतिको जिम्मेवारी बहन गरेका व्यक्तिले फेरि दलमा फर्केर राजनीतिक भूमिका लिनु हुँदैन,' उनले भने । उनले संघीयता अझै प्रभावकारी बन्न नसकेको स्वीकार्दै, संविधानको सुदृढीकरणको खाँचो औंल्याए ।