काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना नेपालमा नरोकिने भएको छ ।
नेपालसहित चार मुलुकमा एमसीसी परियोजना नरोकिने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
एमसीसी सम्झौता भएर काम पनि सुरु भइसकेका नेपालसहित सेनेगल, मंगोलिया र आइभोरी कोस्टमा परियोजना बन्द नहुने भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सल्लाहकार एलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डोज)ले खर्च कटौतीका लागि एमसीसी परियोजना बन्द गरिने भनेर एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत जानकारी गराएको थियो ।
गत चैत ८ गते एमसीसी अन्तर्गतका सबै काम रोक्न नपर्ने गरी अमेरिकी सरकारले पत्र नै पठाएको थियो ।
एमसीसीअन्तर्गत नेपालसहित विभिन्न २० देशहरूमा विभिन्न काम गर्दै आइरहेकोमा चार देशबाहेकका अरू मुलुकहरूमा भने परियोजना रोक्न भनिएको हो ।
नेपालमा एमसीसीबाट प्राप्त हुने ५० करोड डलरमध्ये ३९ करोड ८० लाख डलर विद्युत प्रसारण लाइन निर्माणमा खर्च गर्ने योजना थियो । यसअन्तर्गत ठेक्का प्रक्रियासमेत भइसकेको छ ।
सन् २०१७ मा नेपाल र अमेरिकाले हस्ताक्षर गरेको एमसीसी कम्प्याक्टलाई नेपालको प्रतिनिधिसभाले सन् २०२२ मा अनुमोदन गरेको थियो ।
सम्झौताको सर्तअनुसार परियोजना कार्यान्वयन सुरु भएको ५ वर्षभित्र एमसीसीअन्तर्गतका आयोजना सम्पन्न नभए त्यसअन्तर्गत प्रतिबद्धता जनाइएको बाँकी रकम आउन बन्द हुन्छ र बचेको सहायता रकम फिर्ता जान्छ ।
तसर्थ नेपाललाई यसअन्तर्गत रहेका आयोजनाहरू सन् २०२८ को अगस्तभित्र पूरा गर्नुपर्ने समय सीमा छ ।
पूर्वराष्ट्रपति जर्ज डब्लु बुसले २००४ मा एमसीसी स्थापना गरेका थिए ।
ट्रम्प प्रशासनले करिब ४० अर्ब डलर वार्षिक सहायता वितरण गर्ने यूएसएडलाई पनि विघटन गरिसकेको छ।