काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको छ ।
कालीमाटी स्थित स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा सांसद राईलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा सांसद राईलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको उनले बताए ।
सांसद राई समेतका व्यक्तिले उक्त सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । सांसद राई पक्राउ परेको सूचना सभामुखलाई पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी गराएको हो ।