काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगलागीका कारण आइतबार र सोमबार आकस्मिक सेवाबाहेक अन्य सबै सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार शनिबार ओपीडी भवनमा रहेको मेडिकल स्टोरमा आगलागी भएपछि ओपीडी सेवा र ल्याब सेवा दुई दिनका लागि स्थगित गरिएको हो ।
विद्युत सर्ट भई भ्याक्सिन राख्ने फ्रिजबाट आगलागी शुरु भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा ठूलो क्षति पुगेको डा. सुवेदीले जानकारी दिए ।
यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण पत्ता लगाउन डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको छ । समितिलाई चाँडो प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
आगलागी नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगो निभाइसकेपछि बिल्डिङभित्र पानी र जलेका सामानहरू छरपस्ट रहेकाले दुई दिन आकस्मिक बाहेक अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
'अल्ट्रासाउन्ड र इमर्जेन्सी सेवा भने सुचारु रहेका छन्,' डा. सुवेदीले भने, 'तर ओपीडी सेवा र ल्याब सेवा आइतबार र सोमबार बन्द रहनेछ ।'