प्रधानमन्त्री ओलीको प्रश्न - मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरूले प्रमाणित गर्न सक्छन् ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेहरूलाई त्यस्ता कुराहरू प्रमाणित गर्न चुनौती दिएका छन् ।

मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरूले लाजशरम पचाएर यस्ता आरोपहरू लगाउने गरेको बताए । देशमा एमाले र नेपाली काँग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उनले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताए । 

'झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ  कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ, ' प्रधानमन्त्री ओलीले भने, 'आजकाल नीलो रंगका स्यालहरू निकै हाउभाउ गरिरहेका छन् । तिनीहरूको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ ।’ 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरूको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी गरे । 

पार्टीभित्रको राजनीतिका हकमा धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उनले विश्लेषणत्मक चेत राख्न सुझाव दिए । 'पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’ उनले भने ।

Share News