काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले गभर्नर नियुक्तिमा राजनीतिक हस्तक्षेप भएको भन्दै आपत्ति जनाएका छन् । विभिन्न सञ्चारमाध्यममार्फत ठूलो आर्थिक चलखेल तथा राजनीतिक हस्तक्षेप भएको समाचार सम्प्रेषण हुने गरेको बताउँदै यसले राष्ट्र बैंकको स्वायत्ततामाथि ठूलो असर परेको उनीहरूको धारणा छ ।
नेपाल राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले कार्यवाहक गभर्नरबाट राष्ट्र बैंक सञ्चालन हुनु पर्दा दुःख व्यक्त गरे ।
‘कानुनी प्रावधानलाई पालना गरेर एक थान गभर्नर उपलब्ध गराउन सकेको छैन । राष्ट्र बैंक ऐनमा भएको स्पष्ट प्रावधान मिचेर चैत २४ गतेबाट कामु गभर्नरबाट राष्ट्र बैंक सञ्चालन भइरहेको छ । नेपाल राष्ट्र बैंकको इतिहासमा यो दुखद विषय हो,’ उनले भने ।
उनले राष्ट्र बैंकको कर्मचारी गभर्नर बन्न नसक्ने विषयप्रति पनि आपत्ति जनाए ।
‘बजारमा हल्ला चलेको छ, करोड अरबका विषय आइरहेका छन् । गभर्नरको मूल्य कति हो ? हामीलाई पनि थाहा भए कर्मचारीको तर्फबाट पनि केही योगदान गर्न सकिन्थ्यो की । किनभने हामीलाई छिट्टै गभर्नर आवश्यक परेको छ,’ उनले भने, ‘साथै केही व्यक्तिको योग्यता पनि अयोग्यतामा परिणत हुने अवस्थामा पुगेको छ । धेरै नाम हामीले सुन्दै आएका छौं, फेरि मेटिँदै, फेरि सुन्नु परेको छ । अब उहाँहरुको योग्यता के हुने हो ? उहाँहरूले मानहानीको मुद्धामा जानु पर्ने हो की भन्ने विषयमा बहस पनि चलेको छ ।’
यस्तै, राष्ट्र बैंक वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष हरिकृष्ण भट्टराईले राष्ट्र बैंक १८औं गभर्नरको पर्खाइमा रहेको सुनाए । उनले पनि राजनीतिक खिचातानीले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा राष्ट्र बैंकको स्वायत्ततामाथि आँच आएको धारणा राखे ।
अन्तर्राष्ट्रिय संस्थाले समेत चासो दिने किसिमले राष्ट्र बैंकमाथि पनि प्रश्न उठ्न थालेको उनको बुझाइ छ । राष्ट्र बैंकले लिएको नीतिले गर्दा उद्योग/व्यवसायी समस्यामा परेको बताउँदै उनले यसमा सुधार गर्न आवश्यक रहेको सुनाए ।
‘राष्ट्र बैंक आफैले लिएका नीति पालना हुन सकेको छैन, विगत १३/१४ वर्षदेखि कर्मचारी बढुवा हुन सकिरहेका छैनन्, राष्ट्र बैंकले सुविधा सम्पन्न भवन पाए पनि कर्मचारीले सेवा सुविधा पाउन सकेको छैनन्,’ भट्टराईले भने ।
यस्तै, नेपाल राष्ट्र बैंक कर्मचारी संघकी अध्यक्ष गीता लम्साल पोखरेलले गभर्नर नियुक्तिको विषय सामाजिक सञ्जालमा तिक्तता पोख्ने वातावरण नबनाउन पनि आग्रह गरिन् ।