सरकारले बाटो बिराएको नतिजा सडकमा देखिएको छ : डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आफ्नो कर्तव्य बिर्सिएको आरोप लगाएका छन् । आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारको अकर्मण्यता र संवेदनशीलताको कमीका कारण आन्दोलन चर्किएको बताएका हुन् ।

अर्यालले नयाँ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूको माग सम्बोधन गर्न पहल गर्नेमा आफू विश्वस्त रहेको बताए । तर, लामो समयदेखि शिक्षकहरू सडकमा रहनु सरकारको असक्षमता र कमजोरीको प्रतिविम्ब भएको उनको भनाइ छ ।

'शिक्षकहरूको यति लामो समयसम्म आन्दोलन हुनु हुँदैन थियो,' अर्यालले भने, 'सरकार जेका लागि बनेको हो, त्यसमा उपस्थित देखाउन नसक्नु र संवेदनशील हुन नसक्नु सरकारको ठूलो कमजोरी हो ।' उनले निजामती कर्मचारी र स्वास्थ्यकर्मीसमेत आन्दोलनमा आउने अवस्था सिर्जना हुनु सरकारको अकर्मण्यता भएको टिप्पणी गरे ।

अर्यालका अनुसार सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयन नगरेका कारण आन्दोलन चर्किएको हो । उनले विद्यालय शिक्षा ऐन निर्माणको अन्तिम चरणमा रहेको र संसदमा १३२ वटा संशोधन प्रस्ताव दर्ता भइसकेको जानकारी गराए ।

'हामी शिक्षकहरूको पक्षमा छौं। कुनै पनि पक्षलाई आन्दोलनमा जानु नपरोस् भन्ने हाम्रो चाहना हो,' अर्यालले भने ।

Share News