विद्युत प्राधिकरणको प्रष्टिकरण- केही उद्योगहरूमा मात्रै लोडसेडिङ भएको हो, बाँकी हल्ला

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हाल देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्राधिकरणले आधिकारिक सूचना जारी गरेको हो ।

आइतबार जारी विज्ञप्तिमा प्राधिकरणले हाल घरायसी ग्राहकका लागि २४ सै घण्टा विद्युत सेवा उपलब्ध रहेको र आगामी दिनमा पनि लोडसेडिङ नहुने जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजभाइ शिल्पकारले सामाजिक सञ्जालमा लोडसेडिङ भएको भन्दै जथाभावी हल्ला फैलाइएको बताए ।  

'अहिले हामीले भारतबाट प्रतियुनिट १० रुपैयाँका दरले आयात गरिरहेका छौं । ३२ रुपैयाँका दरले प्रतियुनिट विद्युत आयात गरिरहेको कुरा झुट हो । सामाजिक सञ्जाल र मिडियामार्फत भ्रम फैलाउँदै छन् । यसमा हाम्रो आपत्ति छ,’ उनले भने ।

उनले उद्योगहरूमा मात्रै रातिको समयमा उद्योग चलाउनलाई समस्या भइरहेको बताउँदै यो समस्या विस्तारै हल हुँदै जाने जानकारी दिए । 

प्रवक्ता शिल्पकारले भने, ‘हामीले अहिले बिजुली दिएकै छौं । केही उद्योगहरूमा दिन सकिरहेका छैनौं । किनभने अहिले भारतमा गर्मी र आईपीएलका कारण उतै माग बढी भएकाले हामीले विद्युत आयात गर्न सकिरहेको अवस्था छैन । यो समस्या बिस्तारै हल हुँदै जान्छ ।’ 

प्राधिकरणका अनुसार हाल देशभर कुल विद्युत जडित क्षमता ३ हजार ५१२ मेगावाट पुगेको छ । जसमा प्राधिकरण स्वामित्वका जलविद्युत आयोजना, सौर्य र तापीय संयन्त्रहरू तथा निजी क्षेत्रबाट उत्पादित विद्युत समावेश छन् । 

आन्तरिक उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेको छ भने विद्युतको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ । बाँकी माग भारतबाट विद्युत आयात गरेर पूर्ति गरिँदै आएको छ ।

गर्मी याम सुरु भएसँगै भारतमा समेत विद्युत माग बढेकाले रातिको समयमा विद्युत आपूर्ति व्यवस्थापनमा केही चुनौती देखिए पनि घरायसी ग्राहकलाई निरन्तर सेवा दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्री-मनसुनको प्रभावका कारण आँधी, हुरी र चट्याङले कतिपय स्थानमा अस्थायी अवरोध हुन सक्ने र मर्मत तथा पूर्वसूचित निर्माण कार्यका कारण कतै–कतै विद्युत आपूर्ति रोकिएको जानकारीसमेत गराएको छ ।

औद्योगिक ग्राहकहरूलाई भने बेलुकीको समयमा खपत घटाउन आग्रह गरिएको छ । साथै प्राधिकरणले नेपालमा नदीमा बहाव बढ्ने र भारतबाट आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने विश्वास व्यक्त गरेको छ ।

प्रवक्ता शिल्पाकरले देशमा लोडसेडिङ हुन नदिन हर प्रयास गरिरहेको दाबी गरे । उनले  झुटो प्रचार नगर्नसमेत आग्रह गरे ।

null

Share News