काठमाडौं । देव ऊर्जा कन्स्ट्रक्सन लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलो खोला ‘ए’ जलविद्युत् आयोजनाको सिभिल र हाइड्रो मेकानिकलतर्फका सबै मुख्य कार्यहरू सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले सिभिल र हाइड्रो मेकानिकल कार्य २०८१ साल फागुन मसान्तसम्म पूरा गरी इलेक्ट्रोमेकानिकल टोलीलाई हस्तान्तरण गरिसकेको छ ।
आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य भारतको बीएफएल कम्पनीले गरिरहेको छ । निर्माण कार्यको क्रममा प्रत्येक वर्ष करिब चार महिनासम्म मालाङ क्षेत्रमा पहिरोका कारण काम अवरुद्ध हुने अवस्था आउँदा पनि देव ऊर्जा कन्स्ट्रक्सनले दृढता, निरन्तर प्रयास र मेहनतका साथ समयभन्दा अगावै कार्य सम्पन्न गर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नविन सिलवालले जानकारी दिए ।
माथिल्लो ठूलो खोला आयोजनाको सिभिल तथा हाइड्रो मेकानिकल कार्यको सुरुवात २०७९ साल फागुन १५ गते औपचारिक भूमिपूजनसहित गरिएको थियो । सिभिल संरचनाको निर्माण २०८० साल वैशाखदेखि सुरु गरिएको थियो ।
कम्पनीका वित्तीय प्रमुख प्रदिप खतिवडाका अनुसार आयोजना २०८२ साल असोज २८ गते निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि तोकिएको मिति अगावै राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल हुने अपेक्षा गरिएको छ ।
करिब ३ अर्ब ९४ करोड रुपैयाँको लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी गरिएको छ । सिटिजन्स बैंकको अगुवाइमा कृषि विकास बैंक र माछापुछ्रे बैंकले आयोजना निर्माणमा वित्तीय साझेदारी गरेका छन् ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–८ मा निर्माण भइरहेको माथिल्लो ठूलो खोला जलविद्युत् आयोजना अब छिट्टै राष्ट्रिय ग्रिडमा जोडिने तयारीमा रहेको छ।