पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १४ करोड बराबरको मागदाबी

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

मधेस प्रदेशअन्तर्गत सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । 

उनी सचिव पदमा रहेको बेला मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्थानीय तहमा निदान केन्द्रका लागि खरिद गरेको स्वास्थ्य उपकरणमा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । 

आर्थिक वर्ष २०७८/०७९ मा ६४ वटा स्थानीय तहमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएको ठेक्कामा अनियमितता भएको अख्तियारले जनाएको छ । 

अनियमितता प्रकरणमा श्रेष्ठसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

श्रेष्ठविरुद्ध चार थरी मुद्दा दायर गरिएको छ भने १९ करोड ४६ लाख १३ हजार १ सय २० रुपैयाँ बराबरको मागदाबी गरिएको छ । सरकारी कर्मचारी विरुद्ध अख्तियारले मुद्दा दायर गर्ने बित्तिकै पद स्वतः निलम्बनमा पर्ने व्यस्थासँगै श्रेष्ठ निलम्बनमा परेका छन् । 

गत वर्षको जेठबाट श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

Share News