मनी ट्रान्सफर दुरुपयोग गरेर १७ अर्बभन्दा बढी अवैध कारोबार, २१ जना पक्राउ

काठमाडौं । अवैध वित्तीय कारोबारमा संलग्न २१ जना कारोबारीलाई देशका विभिन्न ११ जिल्लाबाट पक्राउ गरिएको छ ।

आन्तरिक विप्रेषण बन्द भएको अवस्थालाई दुरुपयोग गर्दै विदेशबाट प्राप्त रकमलाई अवैध रूपमा कारोबार गर्दै आएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेका व्यक्तिहरूले भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, करछलीजस्ता कार्यमा संलग्न रही ठूलो परिमाणमा अवैध कारोबार गरेको प्रहरीले जनाएको छ ।

उनीहरूले डिजिटल वालेट कम्पनीहरू (सजिलो पे र पेवेल नेपाल प्रालि) को नाममा बैंक खातामा रकम जम्मा गराई, विभिन्न मनी ट्रान्सफरमार्फत अवैध रुपमा रकम स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका कारोबारीहरूले जम्मा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको खुलासा भएको छ । पक्राउ परेका प्रमुख व्यक्तिहरूमा मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, पर्सा, नवलपरासी, चितवन र विरगंजका कारोबारीहरू रहेका छन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरीले सम्पत्ति शुद्धीकरण र आर्थिक अपराधसम्बन्धी कानुनअनुसार कारवाही अघि बढाउने तयारी गरेको छ ।

Share News