भारत भ्रमण जाँदै गर्दा मुख्यमन्त्री साहले भने - आतंकवाद नेपाललाई स्वीकार्य छैन

काठमाडौं । भारत सरकारको निमन्त्रणामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साह मंगलवार भारतको औपचारिक भ्रमणमा गएका छन् । भ्रमणमा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री साहले सुदूरपश्चिमसँग सीमा जोडिएका भारतीय क्षेत्रहरूमा संस्कृति, पर्यटन, व्यापार लगायत विषयमा छलफल हुने जानकारी गराए ।

उनले भने, 'प्रदेश सरकारलाई कुनै आधिकारिक सम्झौता गर्ने अधिकार छैन, तर सम्बन्ध सुदृढीकरणका लागि संवाद र सहकार्य हुनेछ ।' उनले असोजमा आयोजना हुन लागेको सुदूरपश्चिम प्रदेशको लगानी सम्मेलन सम्बन्धी विषयमा पनि भारत भ्रमणका क्रममा छलफल हुने जानकारी दिए ।

हालै भारतको जम्मु–कश्मीरमा भएको आतंककारी हमलाप्रति गहिरो दुःख व्यक्त गर्दै मुख्यमन्त्री साहले भने, 'कुनै किसिमको आतंककारी गतिविधि नेपाल, नेपाली सरकार वा जनताका लागि स्वीकार्य छैन । यस्तो घटनाको हामी घोर निन्दा गर्दछौं । सबैले सचेत भएर एकता कायम राख्दै अघि बढ्न जरुरी छ ।'

मुख्यमन्त्री साहले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, धार्मिक, सांस्कृतिक र भौगोलिक आधारमा अटुट रहेको उल्लेख गर्दै यस भ्रमणले प्रदेश तथा स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनका अनुसार भ्रमणका क्रममा राजनीतिक भेटवार्ता भने नहुने भए पनि, सरकार–सरकारबीच पर्यटन, कृषि, व्यापारलगायत क्षेत्रमा सहकार्यबारे संवाद हुने छ । उनले उत्तराखण्ड र उत्तर प्रदेशसँगको सीमावर्ती सहकार्यलाई प्रभावकारी बनाउने अवसरको रूपमा भ्रमणलाई उपयोग गरिने बताए ।

Share News