काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
रुपन्देहीस्थित दुगौलिया प्रहरी चौकीमा कार्यरत सई खिमबहादुर खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सई खड्काले भारतबाट भन्सार छली गरी घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको प्रमाण भेटिएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो ।
उजुरीका आधारमा अख्तियारको बुटवलस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले खड्कालाई घुससहित रंगेहात पक्राउ गरेको थियो ।
प्रवक्ता पौडेलका अनुसार खड्काले लिएको रकमलाई बिगो ठहर गर्दै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१०(क) अनुसार कैद र जरिवाना मागदाबीसहित विशेषमा मुद्दा दायर गरिएको हो ।