फिल्डस्तरको सेवा सुधारका लागि नेतृत्व तालिम, २०८ कर्मचारी सहभागी

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले फिल्डमा कार्यरत कर्मचारीहरूको क्षमता अभिवृद्धि र नेतृत्व विकासका लागि चितवनमा दुई दिने प्रशिक्षण तालिम सम्पन्न गरेको छ । तालिममा प्रदेश १ र २ मा कार्यरत २०८ जना कर्मचारीको सहभागिता रहेको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले प्रशिक्षण समापन समारोहमा बोल्दै कर्मचारीको सुझाब र गुनासो सुन्ने र व्यवस्थापन गर्न यस्तो तालिम सहयोगी हुने विश्वास व्यक्त गरे। साथै, गुणस्तरीय सेवा प्रवाहमा सुधार ल्याउन र संस्थालाई अझ सक्षम बनाउने दिशामा प्रशिक्षण प्रभावकारी हुने धारणा व्यक्त गरे ।

तालिममा अन्तर्राष्ट्रिय मोटिभेशनल स्पीकर सौनक भट्ट, लघुवित्त विज्ञ शिवहरि देवकोटा, श्रवणकुमार सपोर्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेल, तथा संस्थाका तालिम विभाग प्रमुख उमेशमान डंगोलले सहजीकरण गरेका थिए ।

संस्थाका अनुसार वैशाख महिनाभर विभिन्न स्थानहरूमा कर्मचारीहरूलाई तालिम दिइँदै आएको छ, जसबाट संस्थागत दक्षता र फिल्डस्तरको सेवा प्रवाहमा गुणस्तरीय सुधार आउने अपेक्षा गरिएको छ ।

Share News