प्रहरीको आचरण अब कानुनी निगरानीमा, शिष्ट व्यवहार अनिवार्य

काठमाडौं । अब प्रहरीलाई सेवाग्राही तथा आम नागरिकसँग शिष्ट, मर्यादित र सम्मानजनक व्यवहार गर्न कानुनी रूपमा बाध्यकारी बनाइएको छ । यसका लागि सरकारले ल्याएको केही नेपाल ऐन संशोधन विधेयक मार्फत प्रहरी ऐन, २०१२ मा संशोधन गरिएको हो ।

मंगलबार प्रतिनिधि सभाबाट पारित भएको विधेयकले प्रहरी ऐनको दफा १५ मा संशोधन गर्दै, प्रहरीलाई शिष्ट र मर्यादित आचरण प्रदर्शन गर्नुपर्ने कानुनी व्यवस्था स्पष्ट गरेको छ । यस्तै, दफा ३६ मा प्रहरी विशेष अदालतको गठनबारे व्यवस्था गरिँदै, अब ‘क्षेत्रीय’ अदालतको सट्टा ‘प्रदेश’ स्तरमा विशेष अदालत स्थापना हुने प्रावधान थपिएको छ । यस अदालतलाई संघीय संरचना अन्तर्गत रहने गरी परिभाषित गरिएको छ ।

उक्त विधेयक २०७८ वैशाख २६ गते प्रतिनिधि सभामा दर्ता गरिएको थियो।  २०७८ भदौ २९ मा विषयगत समितिमा पठाइएको विधेयक अन्ततः २०७८ वैशाख १४ मा सभामा फिर्ता आएर मंगलबार पारित भएको हो ।

अब विधेयक राष्ट्रिय सभामा पेस गरिनेछ । त्यहाँबाट पारित भएपछि प्रतिनिधि सभामार्फत राष्ट्रपतिको प्रमाणिकरण हुँदै कार्यान्वयनमा ल्याइनेछ ।

Share News